Search
  • विश्वास खड्काथोकी, Naya Patrika

नेपालमा उत्पीडन अमेरिकामा उच्च सम्मान


२०१५ सेप्टेम्बर २७ । अमेरिका त्यसमा पनि लुइस भिल्लेको केन्टकी सहर । विश्वकै उत्कृष्ट सहरमध्येको एकमा पर्छ, केन्टकी । कतिपय मानिसहरू रिफ्रेसमेन्टका लागि त्यहाँ पुग्छन् । त्यस दिन डा. विष्णुमाया परियार पनि पुगिन्, न्यु जर्सी सिटीबाट ५ सय ५२ माइलको यात्रा पार गरेर ।

त्यहाँ उनी रिफ्रेस्टमेन्टका लागि नभएर दलितका विषयमा लेक्चर दिन र आफ्नै जीवनीमा आधारित डकुमेन्ट्री ‘अनटचएबियालिटी’ प्रदर्शनका लागि निमन्त्रणमा पुगेकी थिइन् । खचाखच फोरममा उनी नेपालबारे बोलिन् ।

युनाइटेड स्टेटको घडीले दिउँसोको ४ बजाउँदै थियो । बाहिर सूर्यको चम्किलो प्रकाशले केन्टकीको सौन्दर्यलाई थप खुलाएको थियो । त्यही सहरको चार दिवारभित्र उभिएकी विष्णुमायाको आँखाबाट भने अविरल आँसुका ढिका खसिरहेका थिए ।

लुइस भिल्ले स्टेटका एकजना सरकारी प्रतिनिधि ड्यासबाट बोल्दै थिए, ‘वी डिसाइडेट टु डिक्लियर अवार्ड विष्णुमाया डे इन सेम्टेम्बर २७ ।’ विष्णुमायाका लागि त्यो ठूलो ‘सरप्राइज’ थियो । जिन्दगीमा कहिल्यै नसोचेको सरप्राइज । उनले ठूलो फ्रेमिङ भएको अवार्ड थापिन् ।

विष्णुमाया विगतमा पुग्छिन्, ‘मैले विश्वास नै गर्न सकिरहेकी थिइनँ । त्यो क्षणलाई शब्दमा वर्णन गरेर कहिल्यै सक्दिनँ । त्यतिवेला आँखाभरि आँसु थियो । एक मनले त म अवार्डको भागिदार छैन जस्तो लाग्थ्यो । अर्को मनलाई विगतका कहालीलाग्दा भोगाइले घोचिरह्यो ।

मसँग यस्ता पनि विगत थिए कि आफूले खाएका भाँडा माझेर मात्र सुख पाउथिनँ । जहाँ खाएँ, त्यहाँ गोबर–पानीले लिपिदिनुपथ्र्यो । उहाँहरूले आगो हालेर त्यो ठाउँलाई पवित्र बनाउनुहुन्थ्यो । विगत सम्झेर म अझ जोड–जोडले रोइरहेकी थिएँ ।’

यो सवाल–जवाफ गर्दा हामी अमेरिका होइन, बालुवाटारस्थित दलित महिला उत्थान संघ (एड्वान) नेपालको अफिसमा छौँ । यहीँबाट विष्णुमायाको अमेरिकासम्मको यात्रा सुरु भएको थियो । विष्णुमाया न्यु जर्सी सिटीका मेयरको सल्लाहकारसमेत बनिन् ।

यो यात्राले विश्वचर्चित थुप्रै अवार्ड दिलायो । सन् २००७ मा विश्व बैंकले नै तीनजनामध्ये विष्णुमायालाई पनि ह्युमन राइट्स अवार्ड प्रदान ग-यो । विष्णुमाया एक–एक गर्दै जीवनका आरोह–अवरो खोतल्दै छिन् । कहिले खित्का छोड्दै त कहिले परेली ओसिलो पार्दै ।

घरमा ढिँडोको बान मात्र उम्लिरहन्थ्यो । भात देख्न त चाडबाड नकुरी धरै थिएन । तर, बुबाले छोरीलाई दिनभर पढ्न गाह्रो हुन्छ भनेर टोपीमा चामल किनेर ल्याइदिनुहुन्थ्यो । र, कसैलाई थाहा नदिई भात खुवाएर स्कुल पठाउनुहुन्थ्यो ।

उनी एक हप्ताको समय लिएर नेपाल आएकी थिइन् । एड्वानले पढाएका विद्यार्थीहरू अहिले स्टाफ नर्स, निजामती, शिक्षक, डाक्टर, स्थानीय तहका सदस्य यस्तै–यस्तै बनेका छन् । सन २००३ यता १५ हजारभन्दा बढीलाई छात्रवृत्ति दिएकी छिन्, उनले । हो, आफ्नै पसिना सिञ्चित गरेर उत्पादन गरेका तिनै जनशक्तिलाई सम्मान गर्दै थिइन्, उनी । तर, यसको ‘ब्याकस्टोरी’ खोतल्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

प्रसंग सन् २००९ को हो । विष्णुमाया अमेरिकामै कार दुर्घटनामा परिन् । अचेत विष्णुमायाको सास भने बच्यो । जब उनी अस्पतालको बेडबाट उठेर नियमित काममा फर्किन्, कसैले उनलाई सल्लाह दियो, ‘वकिलकहाँ डकुमेन्ट पेस गर्नुस्, क्षतिपूर्ति पाउनुहुन्छ ।’ साँच्चै उनले मुद्दा लडिन् र हात पारिन्, २० हजार अमेरिकी डलर ।

विष्णुमायाले सम्झिन्, ‘मैले त्यो रकम के गर्ने ? दुःख गरेर कमाएको त थिइनँ । त्यसैले, निर्णय गरेँ, नेपालको शिक्षामा लगानी गर्छु । यस्ता बालबालिकालाई सहयोग गर्छु, जो खोस्टा पैसाकै अभावमा शिक्षाको अमूल्य ज्योतिबाट धेरै पर छन् । सायद यो सोच साकार हुनैका लागि दुर्घटनाले पर्खिरहेको थियो क्यारे !’

०००

विद्यालय र विद्यार्थीको प्रसंगमा उनी एकाएक भावुक बनिन् । अनुहारमा कालो बादल मडारियो । आँखा वर्षिन आतुर मौसमजस्ता भए । ‘स्कुलमा म नेभर सेकेन्ड स्टुडेन्ट थिएँ,’ उनी बोल्न के खोज्दै थिइन्, गला अवरुद्ध बन्योे । मानौँ, उनको गलामा अकस्मात् केही छि-यो र बीचमै अड्कियो । स्मरणहरू यति बलिया हुन्छन् नि थाहै नपाई आँसु वर्षाइदिन्छन् ।

गोर्खाको दुर्गममा थियो उनको गाउँ, ताक्लुङ । किसानीका लागि केही गह्रा जमिन थिए, तर वर्षभरि खान पुग्दैनथ्यो । उनका बुबाको ड्युटी थियो, कल बोकेर गाउँलेको घर–घर डुल्ने र फाटेका कपडालाई नयाँ रूप दिने । उनकी आमाको ड्युटी हो, नयाँ बाली भित्र्याउने वेला डोको बोकेर विष्टका घर पुग्ने र जे दिन्छन् त्यही घरको ओतमा भित्र्याउने ।

विष्णुमायाकी आमाले बोक्ने कति डोका फाटे, बुबाले हजारौँ कपडालाई नयाँ स्वरूप दिए । तर, उनीहरूको जीवनले कहिल्यै काँचुली फेरेन । शरीरले कहिल्यै चम्किलो कपडा देखेन ।

उनका बुबा परदेशबाट आएका गाउँलेका चिठी पाठ गर्ने र जवाफ लेखेर पठाइदिने पनि गर्थे । शिशु कक्षा मात्र पढेका उनी नपढेका साहित्यकारजस्ता थिए । छोरी विष्णुमायालाई पढ्न हौसाइरहन्थे । विष्णुमाया नोस्टाल्जिक बन्छिन्, ‘उहाँले सधैं तिमी पढेर विभेदविरुद्ध लड्नुपर्छ भन्नुहुन्थ्यो । बुबाको त्यो भनाइले सधैँ अगाडि बढ्न घचेटिरहन्छ । बुबा नभएको भए म यो ठाउँमा हुने कल्पनासम्म पनि गर्न सक्थिनँ हुँला ।’ बुबाप्रति उनको अमीट श्रद्धाभाव छ ।

सन्तानका रूपमा विष्णुमाया एक्ली थिइनन् । एक भाइ र नौ दिदी–बहिनीकी धनी थिइन् । अभावकै बीच विष्णुमाया नियमित स्कुल जान थालिन् । उनको तेजिलो पढाइले गाउँलाई नै आश्चर्यमा पा-यो । विष्णुमाया थोत्रो जामा पैहिरिएर स्कुल हिँड्दै गरेको बालापन सम्झिन्छिन्, ‘म दैनिक स्कुल जान्थेँ ।

सँगैका साथीहरूले पनि गिज्याउँथे, ‘ए दमिनी ! कपडा सिलाउन छाडेर कहाँ पढ्न हिँडेकी ?’ तिर्खाएका वेला धारामा गएर पानी खान नपाएको र सरस्वती पूजामा टाढै बसेर टुलुटुलु हेरेका घटना त कति–कति !’ ७ कक्षामा पनि उनी प्रथम भइन् । अब गाउँमा त्यसभन्दा माथि पढ्न स्कुल थिएन । साढे दुई घन्टाको दूरी पार गरेर अर्को गाउँ पुग्नुपथ्र्यो, मनकामना मावि । त्यो यात्रा पनि तय गर्न पछि हटिनन्, विष्णुमाया ।

लुइस भिल्ले स्टेटका सरकारी प्रतिनिधि ड्यासबाट बोल्दै थिए– वी डिसाइडेट टु डिक्लियर अवार्ड विष्णुमाया डे इन सेम्टेम्बर २७ । विष्णुमायाका लागि त्यो ठूलो ‘सरप्राइज’ थियो ।

अब झन् उनीमाथि शृंखलाबद्ध आक्रमण हुन थाले । विद्यालय जाँदा–आउँदा बाटोमा बसेर ‘दमिनी’ भन्दै अपमानित गर्नेहरू अनगिन्ती थिए । उनको बुबाको पनि कान फुक्न थाले, ‘छोरी उत्ताउली हुन थाली । किन पढाएको ? बिहे गरिदिनू ! यसरी त ‘बिक्न’ पनि गाह्रो पर्छ ।’ गाउँलेले बुबालाई दिएका यस्ता सुझाबको सुइँको विष्णुमायाको कानले पनि धेरैपटक पायो ।

तर, बुबाको ढाडसले विष्णुमायाको आत्मबल झन् बलियो बन्यो । ‘म २ घन्टाभन्दा बढी जंगलको बाटो हिँडेर स्कुल पुग्थेँ । बिहान ७ बजे निस्किनुपथ्र्यो । बेलुकी घर फर्किंदा साँझ परिसक्थ्यो,’ उनले सम्झिन्, ‘घरमा बिहान–बेलुकी ढिँडोको बान मात्र उम्लिरहन्थ्यो ।

भात देख्न त चाडबाड नकुरी धरै थिएन । तर, मेरो बुबाले छोरीलाई दिनभर पढ्न गाह्रो हुन्छ भनेर टोपीमा चामल किनेर ल्याइदिनुहुन्थ्यो । र, कसैलाई थाहा नदिई भात खुवाएर स्कुल पठाउनुहुन्थ्यो ।’ बाटोमा प्यास लाग्दा पानी खान पाउँथिनन्, उनी । जगमा हात थापेर खानुपर्ने भएकाले पानीसँग विद्रोह नै गरेकी थिइन् । यो सम्झिँदा उनका आँखाका डिल फेरि भत्किन्छन् ।

विष्णुमायाले टेस्ट पास गरिन् । अनि एसएलसीमा अब्बल हुन हितैसीसँग घ्याल्चोक पुगिन् । त्यतिवेला एकजना क्षेत्रीको गोठमा बस्न पुगिन् । ‘तल भैँसीले घाँस चपाउँथ्यो, हामी माथि पढिरहन्थ्यौँ । त्यो गोठ जंगलको छेउमा थियो । मेरो साथी नेवार थरको हुनुहुन्थ्यो । बेस्ट फ्रेन्ड थियौँ, हामी,’ उनले सम्झिन्, ‘जब साँझको खाने समय हुन्थ्यो, मरो शरीर काँप्न थाल्थ्यो ।

सबैले खाइसकेपछि मैले खानुपर्ने ! चरा कराउँदा पनि आङ सिरिंग हुन्थ्यो । खाना खाएपछि भाँडा माझेर मात्र सुख पाउँदिनथेँ । त्यो जाडोमा चिसो पानी र गोबरले आफू बसेको भुइँ लिपिदिनुपथ्र्यो । सुकेपछि आगो र सुनपानी छर्किएर उनीहरू ‘पवित्र’ पार्थे ।’

किशोरी अवस्थामा थिइन् । केटाहरूको चिठी आउन थालिसकेको थियो । त्यहीवेला उनलाई एकजना ब्राह्मण केटाले मन पराउँदो रहेछ । ‘मेरो पिछा गरिरहन्थ्यो । मैले मनमनै प्रार्थना गर्थं कि– हे भगवान् ! तिमी छौ भने मैले खाना खाने वेलामा त्यो केटालाई नल्याइदेऊ ।’

त्यो चार महिना उनको जीवनको अत्यत्तै डरलाग्दो समय थियो । नेवार थरकी ती साथीले एकपटक पनि रातमा सँगै बसेर खाऊँ भनिनन् । ‘एकपटक भन्दिएको भए के बिग्रिन्थ्यो र ?

कम्तीमा अपनत्व त महसुस गर्थें,’ उनले भनिन् । उनले एसएलसी पास गरिन्, ०४८ मा । तीनजना थिए, नियमित एसएलसी पास गर्ने । संयोग कस्तो भने त्यही स्कुल नै उनको जीवनमा टर्निङ प्वाइन्ट बन्यो ।

०००

उनी आठ कक्षा पढ्दै गर्दा अमेरिकाबाट पिसकोर भोलेन्टियर आएका थिए । विष्णुमायाको तीक्ष्णताले तानेर उनीहरूले उच्च शिक्षा पढाउने जिम्मा लिएका थिए । उनका लागि काठमाडौंमा आएर उच्च शिक्षा अध्ययन गर्नु ‘आकाशको फल’जस्तै थियो । तर, अवसर कुन दुलोबाट निस्किन्छ, पत्तो हुँदोरहेनछ ।

विष्णुमाया एसएलसीपछि काठमाडौं आइन् र पद्मकन्या क्याम्पस जोइन गरिन् । विडम्बना ! बाहिरबाट आउने पैसा पिसकोरकै कर्मचारीले खाइदिए । उनले भने इन्टर पास गर्नलाई गार्मेन्टमा काम गर्नेहरूलाई खाना पकाउने र रेस्टुरेन्टमा काम गर्नुप-यो । पछि, उनी जागिरका लागि तराई पुगिन् । ‘मार्जिनलाइज ग्रुपका लागि माइक्रो फाइनान्सको प्रोजेक्ट थियो, त्यो ।

तर, त्यसको प्रतिफल सम्पत्तिवालाहरूले मात्र पाउँथे,’ विष्णुमाया भन्छिन्, ‘त्यो देखेर एक वर्षभन्दा बढी समय जागिरमा टिक्न सकिनँ ।’ पछि काठमाडौंमा सहयोगको खोजीमा हिँडिन् । स्नातकको पढाइ सुरु गरिन् । एकजनाले १० हजार रुपैयाँ उपलब्ध गराए ।

त्यो रकम बोकेर उनी गाउँ पुगिन् । त्यहाँ गरिब र दलितको समूह बनाएर राहतस्वरूप ‘सिड मनी’ दिइन् । समूहले व्यावसाय गर्न थाले । समाजमा परिवर्तन देखिन थाल्यो । अब विष्णुमायाको अनुहामा खुसीभाव झल्किन थाल्छ, ‘पहिले गाउँमा दलितसँग छोइए उच्च जातिले ‘छिटो’ हाल्थे, दलितले ऋण पाउनु त परको कुरा ! हामीले काम सुरु गरेपछि दलित र गैरदलित सँगै मिलेर काम गर्न थाले ।

सँगै खान थाले । संस्थाको कोष बढ्दै गयो । दुई वर्षपछि सन् १९९८ मा संस्थाको नाम दियौँ– ‘एडवान नेपाल’ । अहिले संस्थाबाट ५० हजारभन्दा बढी महिला लाभान्वित भएका छन् ।’

०००

उनी युनिभर्सिटी अफ विस्क्यान्टसिनको स्कलरसिपमा अध्ययन गर्दै थिइन् । त्यही समय उनको ज्याकोभ क्यासेलसँग भेट भयो । उनी राम्रा साथी बने । उनले विष्णुमायाबारे आफ्नी आमा इवा क्यासेललाई बताए । विष्णुमायाले विस्क्यान्टसिनमै रिसर्चको काम पाएकी थिइन् । इवाले विष्णुमायालाई छोरी बनाइन् । यो विष्णुमायाको अर्को टर्निङ प्वाइन्ट थियो । सन १९९९ मा विष्णुमाया अमेरिका पुगिन् ।

अमेरिकामा पुगेपछि ‘मदर्स डे’का दिन विष्णुमायाले इवा क्यासेललाई पस्मिनाको सल उपहार दिइन् । त्यसपछि अर्को आइडिया फु-यो । हामीले यो सल अमेरिकामा बेचेर नेपालमा सहयोग किन नगर्ने ? विष्णुमाया भन्छिन्, ‘हामीले सल मात्र होइन, नेपालमा गरिबले उत्पादन गर्ने हेन्डीक्राफ्ट लिएर अमेरिकामा बेच्न थाल्यौँ । वर्षमा २८ लाखसम्मको व्यापार गरेका छौँ । त्यही रकमले मैले नेपालको शिक्षा, महिला सशक्तीकरण र सामाजिक काममा सहयोग गर्न सकेँ ।’

विष्णुमायाकी आमाले बोक्ने कति डोका फाटे, बुबाले हजारौँ कपडालाई नयाँ स्वरूप दिए । तर, उनीहरूको जीवनले कहिल्यै काँचुली फेरेन । शरीरले कहिल्यै चम्किलो कपडा देखेन ।

भूकम्प आएपछि उनले सहयोग जुटाएर गोर्खामा ४ सय ५० अस्थायी टहरा र ट्वाइलेट बनाइदिइन् । विष्णुमाया भन्छिन्, ‘त्यतिवेला दलितलाई पनि चुलो बनाउने तालिम दियौँ । उनीहरू गैरदलितको घरको चुलासम्म पुगे । यो समानता कायम गर्ने एउटा प्रयास पनि थियो ।’

अमेरिकामा पनि उनको लोभलाग्दो सक्रियता छ । हुन त अहिले पनि उनी केयर पोइन्टमा हडसन स्पिक्स एगेन्स सेक्सुअल भ्वाइलेन्समा ९–५ जागिर गर्छिन् । तर, कोही नेपाली अप्ठ्यारोमा प-यो भने विष्णुमाया हाजिर भइहाल्छिन् ।

कहिले उनी संसद्मा नेपालको झन्डा फहराउन पुग्छिन्, कहिले युएनमा पुगेर नेपालबारे बोल्छिन् त कहिले युनिभर्सिटीहरूमा पुगेर लेक्चर दिन्छिन् । त्यसैको सम्मानमा होला, हावर्ड विश्वविद्यालयले ‘ब्रिज विल्डर अवार्ड’ प्रदान ग-यो । ह्युमन होरिजनले डा. अम्बेड्कर ग्लोबल चेन्ज मेकर अवार्ड दियो ।

उनी केही अवार्ड बोकेर बुबालाई देखाउन २०११ मा ताक्लुङ पुगिन् । त्यतिवेला उनले बुबा र आफू राति–राति लान्टिन बाल्दै भूमिगत शैलीमा गाउँ डुलेको सम्झिरहेकी थिइन् । गाउँमा प्रौढ महिलालाई पढ्ने वातावरण थिएन, त्यो वेलासम्म । जब उनले अवार्ड देखाइन्, बुबा खुसी भएको अनुभूत गरिन् । बुबाले आँखाबाट आँसु झारे । बोल्न सकेनन् ।

किनकि विष्णुमाया अमेरिका जानुभन्दा एक वर्षअघि नै बुबा मस्तिष्क पक्षघातले थलिएका थिए । २०१६ यता भने उनले जीवनको कुनै पनि खुसी बुबासँग बाँड्न सक्दिनन् । उनका बुबाको निधन भइसकेको छ । यो सम्झेर उनले आँसु झारिन्, सायद बुबाप्रति श्रद्धाञ्जली थियो !

Source: http://www.enayapatrika.com/2018/05/27/54255/

#America


29 views

2015-2021 Copyrights by ADWAN.ORG. Association of Dalit Women Advancement of Nepal (ADWAN)